चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैंकमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्ष अघिसम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकोमा हाल यो संख्या दुई हजारभन्दा तल छ । उहाँले भन्नुभयो “जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।”
अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उहाँको भनाई छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उहाँ बताउनुहुन्छ । केही महिना अघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा रु.१६.५६ निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा रु.१६.३३ र मिडियम अण्डाको मूल्य रु.१६ रहेको छ । गत महिनाबाट अण्डाको मूल्य प्रतिगोटा रु.१६ हाराहारी आएपछि लागत मूल्य नजिक आएको भट्ट बताउनुहुन्छ । नेपाल अण्डा उत्पादक संघका पूर्व अध्यक्ष त्रिलोचन कँडेल धेरै अण्डा उत्पादक किसानले बैंकको ऋण र व्याज तिर्न नसकेको बताउनुहुन्छ ।
उद्योग संघ चितवनका निवर्तमान अध्यक्ष समेत रहनु भएका कँडेलको भनाईमा दुई लाख ८२ हजार उद्योगी बैंकको कालो सूचिमा छन् । ती मध्ये ४० प्रतिशत कुखुरा पालक किसान एवं पोल्ट्री व्यवसायी रहेको उहाँको भनाई छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दी लगायतका कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउनुहुन्छ । अघिल्ला वर्षहरुमा बैंकको व्याज बढी हुँदा खर्च धान्न कठिन भएको उहाँको भनाई छ ।
दानाको कच्चा पदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेट लगायतका सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उहाँ बताउनुहुन्छ । नेपालमा अहिले अण्डा उत्पादक किसान मध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान एवं फर्मको संख्या १५ रहेको छ । ठूलो फर्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो ।
किसान पलायन हुन थालेपछि वि.सं. २०७९ असोज २९ गते लेयर्स कुखुरा पालक किसानहरुले नेपाल लेयर्स कुखुरा पालक संघ गठन गरेका थिए । सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसान समेत आउन थालेका हुन् । संघका अध्यक्ष विनोद पोखरेलले कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलो मात्रामा बैंक ऋण रहेको बताउनुहुन्छ । उहाँको भनाईमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्था समेत छैन ।
तत्कालिन समयमा लिएको ऋणमा ऋण थप्दै व्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उहाँको भनाई छ । संघ गठन हुँदै गर्दा किसानले अण्डाको मूल्य प्रतिगोटा रु.८ भन्दा तल पाएका थिए । त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उहाँको भनाई छ । अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् ।








