काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी गम्भिर मोडको पुगेको बताएका छन् । सचिवालयको बहुमत सदस्यसँग खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अब सँगै जान नसकिने भन्दै अलग–अलग जानेगरी तयारी गरेको प्रचण्डले सहभागि नेतालाई बताएका हुन् । ‘प्रधानमन्त्रीले अब सँगै जान नसकिने भइयो, अलग–अलग जाऊँ, मैले निर्णय गरिसकेँ, तपाईंहरु पनि गर्नुस् भनेर भन्नुभयो’, प्रचण्डले गरेको ब्रिफिङ उद्धृत गर्दै सहभागि एक नेताले भने । प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन प्रचण्डले आइतबार बिहान वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएका थिए । छलफलमा प्रचण्डले प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन आनाकानी गरेको, एकलौटी रुपमा गरेका निर्णयका बारेमा छलफल गर्न नचाहेको र पार्टी विभाजन गर्नको लागि सबै तयारी गरेको बारेमा आफूले सूचना पाएको बताएका थिए। ‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ भने अलग-अलग जाऔँ । मलाई कुनै समस्या छैन भन्नुभएको छ,’ सहभागी एक नेताले भने । प्रचण्डको ब्रिफिङ सुनेपछि जवाफमा नेताहरुले अहिले कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने र बैठक राख्न पहल गर्नुपर्नेमा जोड दिएका थिए । ती नेताका अनुसार जो कोहीले पार्टी निर्णय मान्नपर्ने, पार्टीलाई नीति र विचारका आधारमा तथा विधि र पद्धतिका आधारमा चलाउनुपर्छ भन्ने खुमलटार छलफलको निष्कर्ष थियो ।








