चितवन । नेपाली कांग्रेस निकट नेपाल तरुण दल चितवनले स्थानीय तहगत कार्यसमितिलाई समायोजन प्रक्रिया थालेको छ । आइतबार इच्छाकामना गाउँपालिकाको प्रथम भेलाले जीवन सिलवाल गाउँपालिका स्तरीय कार्यसमितिको अध्यक्षमा चयन हुनुभएको छ । साविक ४ गाविसका अध्यक्षमध्येबाट सिलवाल चयन हुनुभएको हो । सिलवाल तरुण दलको दारेचोक गाविसका अध्यक्ष हुनुहुन्थ्यो । दाहाखानीका अध्यक्ष दीपक थापा, चण्डींभज्याङका अध्यक्ष विराज गुरुङ, काउलेका अध्यक्ष सुवास थापा सहितको समन्वयमा गाउँपालिका स्तरीय कार्यसमितिलाई पूर्णता दिइने जनाइएको छ । तरुण दलले छिटै अन्य नगरस्तरीय कार्यसमितिलाई समायोजन गर्ने जनाएको छ । प्रथम भेला तरुण दल चितवनका सभापति राजन ताम्राकारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, सह–सचिव राजन कार्की , क्षेत्र नम्बर २ का सभापति भरत लामिछाने, जिल्ला नेता राजेश्वर खनाल लगायतको सहभागिता रहेको थियो । यसैबीच सो कार्यक्रममा नेकपा परित्याग गरी ६ जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा कानुन व्यवसायी होमनाथ सिलवाल लगायतका हुनुहुन्छ ।








