रत्ननगर । विपन्न समुदायका महिलाहरुलाई उद्यमी बनाउन साबुन र सरफ बनाउने तालिम दिइएको छ । रत्ननगर नगरपालिका वडा नं १ वडा कार्यालयले वडा भित्रका २७ जना महिलालाई सीप विकास तालिम दिएको हो । तालिममा सहभागी महिलाहरुलाई नौं प्रकारका साबुन र सरफ बनाउन सिकाइएको छ । तालिम सकिए लगतै आयआर्जनको बाटो समात्न सक्ने गरी महिलालाई साबुन र सरफ बनाउन सिकाइएको छ ।
पाँच दिन अघि सुरु भएको सो तालिम आतबार समापन गरिएको छ । समापन कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटा र कार्यक्रम संयोजक तथा वडासदस्य उमादेवी पौडेलले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष सापकोटाले सीप विकास मार्फत विपन्न समुदायका महिलाहरुको जीवन स्तर उकास्न तालिम आयोजना गरेको बताए । उनले महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणको लागि वडाकार्यालयले सहजीकरण गर्ने बताए । कार्यक्रम संयोजक पौडेलले स्थानीय सरकार रहेको अनुभूति हुने गरी महिलाहरुलाई स्वरोजगार बनाउन तालिम आयोजना गरेको भन्दै सिकेको सीपलाई आयआर्जनको आधार बनाउन आग्रह गरिन ।
सीप सिकाएर चटक्कै छोड्न यो कार्यक्रम गरेका होइनौं उनले भनिन् तपाईहरु उद्यमी बन्नुहोस हामी फेरी सहयोग गर्न तयार छौं । वडा स्तरीय मेलमिलाप समितिकी संयोजक इश्वरी आचार्यले महिलाहरुले उत्पादन गरेको सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताइन् । कार्यक्रममा सहभागीको तर्फबाट शोभा खरेल र सन्तोषी गिरीले मन्तव्य राखेका थिए ।
वडाध्यक्ष सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडासचिव महेश सुवेदी, वडासदस्यहरु विन्दु मगराती, सुर्यविक्रम चौधरी लगायतको उपस्थिति रहेको थियो । तालिममा भूमिका टेक्निकल सर्भिस प्रालीद्वारा सहजिकरण गरेको थियो ।








