चितवन । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य लक्षित संस्थागत जानकारी र सहकारी शिक्षा प्रदान गर्ने उद्देश्यले सहकारी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर ११, भोजाडस्थित वनभोज कार्यक्रममा उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
राष्ट्रिय सहकारी विकास बोर्ड, काठमाडौंका कार्यकारी सदस्य तेजेन्द्रबहादुर खड्काले व्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले सहकारी समुदाय र सदस्यमा केन्द्रित हुनु पर्ने बताए । उनले केही सहकारीमा ठग प्रवृत्तिको मानिस प्रवेश भएकै कारण सुशासनमा चलेका संस्थाहरु समस्या परेको जिकिर गरे । ठग व्यक्तिहरुबाट भएको रकम अपचलन र हिनामिनाले सदस्यहरुको मनस्थितिलाई खलबलाएको उनको भनाइ थियो ।
कार्यक्रममा अध्यक्ष धितालले हरेक शेयर सदस्यहरु सचेत हुनुपर्ने बताउँदै संस्थागत जानकारी लिन आग्रह समेत गरे । सदस्यहरुको खबरदारी र सुझाव व्यवस्थापन टिमका लागि अत्यन्त महत्वपूर्ण मार्गनिर्देशन उनको भनाइ थियो । संस्थामा कुनकुन शीर्षकमा आम्दानी, खर्च भएको र संचालकहरु मनोमानी ढंगले चलेको छ वा छैन सो बारे जानकारी लिन शेयर सदस्यहरुलाई उनको सुझाव थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका हुन् भने सचिव जयराम पाण्डेले संचालन गरेका थिए ।
कार्यक्रम सिद्धि विनायक साकोसका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका लेखा समिति संयोजक विनोद पौडेल, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, व्यवस्थापक विकास पौडेल, सदस्यहरु इन्दिरा पन्त लामिछाने, शम्भु अधिकारी, कृष्णप्रसाद सिलवाल, नवराज अर्याल लगायतको उपस्थिति रहेको थियो । संस्थामा करिब २ हजार नजिक सदस्य रहेका छन् भने २०६५ सालमा स्थापना भएको हो ।








