हेटौंडा । बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजी वनमा रहेका साल प्रजातिको रुख कटान कार्य शुरुवात गर्नका लागि सो को अनुगमन कार्यविधि तयार पारेकोछ ।वन निर्देशनालयले हेटौडामा आयोजना गरेको २ दिने दोस्रो त्रैमासिक समिक्षा गोेष्ठि कार्यक्रममा मन्त्रालयका सचिव डा.केदार वरालले निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, विक्रि वितरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०८१ तयार गरि स्विकृतीका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा पठाउने अन्तिम चरणमा पुगेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो “मन्त्रालयले अहिले निजी वनको साल प्रजातिको रुख कटान,उपभोग,ओसारपसार,विक्रिवितरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०८१ मस्यौदा तयार गरिसकेको अवस्था छ”। यो कार्यविधि प्रदेश सरकार मन्त्रिपरिषदवाट स्विकृत भए पश्चात लागु हुनेछ । यो कार्यविधी वमोजिम दर्ता भएका निजीवन धनिहरुले आफ्नो निजीवनमा लगाईका वा हुर्काइएका सालका रुखहरु स्विकृति लिइ कटान र उपयोग गर्न सक्नेछन्। संघिय सरकारको २०८० साल मंसिर ७ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशन गरेको सूचना १ को ५ (ग) मा दर्ता भएका निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिको रुख कटान,उपभोग ओसारपसार र विक्रि वितरण गर्न पाउने र यसको प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने व्यवस्था गरेकोले प्रदेश सरकारले निजि वनको साल कटान तथा उपयोग कार्यको अनुगमन गर्नका लागि यो कार्यविधी तयार गरेको हो ।
कार्यक्रममा प्रदेशको वन तथा वतावरण मन्त्रालयका मन्त्री कृष्ण प्रसाद सिलवालले कार्यविधिले कुनै व्यक्तिले गैर कानूनी ढंगबाट अन्य निजी वन धनीको जग्गामा रहेको रुख चोरी कटानी तथा निकासी गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख गरिएको बताउनुभयो । यस्तै त्यसको अनुगमन तथा प्रतिवेदन सम्बन्धी व्यवस्थामा डिभिजन वन कार्यालय, स्थानीय तह, वन निर्देशनालय र मन्त्रालयले अनुगमन गर्ने बताउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र १५ वटै डिभिजन वन कार्यालयका प्रमुखहरुले अन्तिम रुप दिएको कार्यविधि प्रदेश सरकार, मन्त्रिपरिषदवाट स्विकृत भए पश्चात तुरुन्तै लागुगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।








