चितवन । निमल नेपालले चितवनका होटल तथा रेष्टुरेण्ट व्यवसायीलाई पशु अधिकार तथा पशु कल्याणका विषयमा अनुशिक्षण गराएको छ । सोमबार नारायणगढमा पिंजडामा पालिकाएका कुखुरा स्वास्थ्यका लागि खान उपयुक्त नहुने भएकाले व्यवसायीलाई जानकारी दिन अनुशिक्षण गरिएको हो । कार्यक्रममा बोल्दै एनिमल नेपालकी प्रमुख सुलक्षणा राणाले पशुलाई पिंजडामुक्त बनाउनुपर्ने बताउनुभयो ।
उहाँले पिंजडामा राखेर पालिएका कुखुराले दिने अण्डा र मासुमा पौष्टिक तत्व कम हुनेभएकाले ‘फ्री केज’ (खुल्ला पालिएका) भएका अण्डा प्रयोग गर्न व्यवसायीलाई अनुरोध समेत गर्नुभयो । सर्वसाधारण र व्यवसायीलाई केज र फ्री केज अण्डा छुट्टाउन कठिन हुने भएकाले बिक्रेतालाई फ्रि केज भएको अण्डाबारे सोधेर खरिद गर्न उहाँले सुझाव दिनुभयो । कार्यपत्र प्रस्तुत गर्दै एनिमल नेपाल चितवनका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले फ्रि केज अण्डाको प्रवद्र्धनमा एनिमल नेपालले काम गर्ने बताउनुभयो । उहाँले व्यवसायीको सहयोग भएमा लेभलिङका लागि एनिमल नेपालले स्टिकरहरु उपलब्ध गराउने बताउनुभयो ।
कुखुराको स्वभाव नै हिँड्ने र डुल्ने भएकाले केजमा राख्न नमिल्ने बताउनुभयो । एनिमल नेपालले पशु कल्याणका लागि काम गर्दै आएको छ । एनिमल नेपालकी दीपा केसीले पशु जीवित हुँदासम्म पीडामुक्त भएर बाँच्न पाउनुपर्ने बताउनुभयो । केजमा पालिएका कुखुराले धेरै पीडा पाउने गरेको भन्दै उहाँले केजमा कुखुरा पाल्न बन्द गर्नुपर्ने धारणा समेत राख्नुभयो ।
केजमा पालिएका कुखुरालाई बढी एन्टिबायोटिक दिने गरिएको बताउँदै उहाँले पछि त्यस्तो मासु खान अनुपयुक्त हुने बताउनुभयो । होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले फ्री केज अण्डा प्रयोग गर्नका लागि व्यवसायीलाई प्रोत्साहन गर्ने बताउनुभयो । व्यवसायीलाई फ्री केजबारे जानकारी नभएको बताउँदै उहाँले आगामी दिनमा आफूहरुले फ्री केज अण्डा प्रयोग गर्ने उहाँको भनाइ छ ।








