रत्ननगर । रत्ननगर नगरपालिकामा गत माघ २२ गतेदेखि सुरू भएको एचपिभी खोप अभियानमा तीन हजार ४०८ किशोरीले खोप लगाएका छन् । Paid Ads रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलका अनुसार नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई एचपिभी खोप लगाइएको हो ।
विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई पनि यो खोप लगाइएको थियो । जनस्वास्थ्य अधिकृत पौडेलका अनुसार कक्षा ६ का ८२४ जना, कक्षा ७ देखि १० सम्मका २ हजार ५११ जना, विद्यालय बाहिर रहेका ७३ जना र छुटेकाहरुको बकुलहर रत्ननगर अस्पतालको खोपकेन्द्रमा ४७ जना गरी कुल तीन हजार ४०८ किशोरीलाई एचपिभी खोप दिइएको हो ।
रत्ननगरमा कक्षा ६ देखि १० सम्मका चार हजार ६६ र विद्यालयबाहिर रहेका १०० जना गरी चार हजार १६६ जनालाई खोप लगाउने लक्ष्य रहेको थियो । विसं २०७९ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगमा ११ वर्षदेखि १३ वर्ष उमेर समूहका ६४० जना किशोरीलाई एचपिभी खोप लगाइएको थियो । पहिले खोप लगाइसकेका किशोरीसमेत जोड्दा लक्ष्यअनुसार ११८ जना कम अर्थात् चार हजार ४८ जनाले एचपिभी खोप लगाएका छन् ।








