तनहुँ । ४३औं मगर स्थापना दिवस तथा देवघाट मगर उत्थान समाजको २७औँ वार्षिकोत्सवको अवसरमा देवघाटमा भोलि वृहत सांस्कृतिक कार्यक्रम हुँदै छ । देवघाट मगर उत्थान समाजले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको हो । ‘मगर एकता हाम्रो अभियान, लोककला र संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको देवघाट मगर उत्थान समाजकी कार्यवहाक अध्यक्ष अमृता थापा मगरले बताइन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिकाहरु टीका पुन मगर र बबिता थापा मगर, गायकहरू पृथ्वी गुरुङ, निश्चल थापा मगर र शिव थापा मगरले प्रस्तुती दिनेछन् । त्यस्तै, डान्सर आना मगरको पनि प्रस्तुति रहने उनले बताइन् । कार्यक्रममा मौलिक भेषभुषा प्रदर्शन, कौराहा र नचरी नृत्य प्रस्तुत गरिने आयोजक संस्थाका सदस्य आशिक राना मगरले जानकारी दिए । ६ वटा समूहले कौराहा नृत्य प्रस्तुत गर्ने छन् ।
सांस्कृतिक कार्यक्रमअघि बिहान ८ बजे दासढुड्गा पुलबाट सांस्कृतिक शोभायात्रा निकालिने उनले बताए । कार्यक्रम सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा देवघाट गाउँपालिका–५ का वडासदस्य तेजबहादुर थापा मगर, मगर संघका विकास राना, अमरबहादुर फेवालीलगायतले बोलेका थिए । कार्यक्रमको संरक्षक देवघाट गाउँपालिका रहेको छ । सह–आयोजकमा नेपाल मगर संघ, देवघाट–५ र पदम स्मृति मगर समाज रहेका छन् ।








