चितवन । बन्यजन्तुको आक्रमणमा परि चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । साउन देखि यता चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट उनीहरुको ज्यान गएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गैंडाको आक्रमणबाट ८ जना, हात्ती र बाघको आक्रमणबाट १÷१ जनाको मृत्यु भएको हो । यस आर्थिक वर्षमा जंगली जनावारका कारण १४ जना घाईते भएका छन् ।
गैंडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट २ जना घाईते भएको उहाँले जानकारी दिनुभयो । निकुञ्जले मृतकका परिवारलाई रु १० लाख र घाइतेको उपचारका लागि रु २ लाख सम्म सरकारी अस्पतालको उपचार खर्च बेहोर्ने गरेको छ । सो क्रममा हाल सम्म रु ९४ लाख ६१ हजार ९३१ राहत स्वरुप प्रदान गरिएको उहाँले वताउनुभयो । राहत स्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरा समेतको रहेको छ । जसमा सामान्य घाइते तर्फ रु ५३ हजार ६०३, गम्भिर घाइते तर्फ रु १८ लाख १ हजार ९१५, मृत्यु भएका परिवारलाई रु ५० लाख राहत स्वरुप प्रदान गरिएको उहाँले बताउनुभयो ।
यस्तै पशुधन क्षती तर्फ रु ९ लाख ४० हजार ४ सय, भण्डार गरेर राखिएको अन्नबाली क्षती तर्फ रु ४ हजार २ सय, घरगोठ क्षती तर्फ रु १ लाख ३३ हजार र अन्नबाली क्षेती तर्फ रु १८ लाख ८१ हजार ८ सय राहत रकम प्रदान गरिएको छ । मानब र वन्यजन्तु बिचको द्धन्द्ध न्यूनिकरण हुन नसक्दा बर्षेनी जंगली जनावारको आक्रमणका कारण अकालमा मृत्यु वरण गर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो निकुञ्ज भित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी वनाउन सकेमा मात्रै मानब वन्यजन्तु बिचको द्धन्द्ध न्यूकीकरण गर्न सकिन्छ ।”
अहिले निकुञ्जले यस क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी (ताल, तलैया एबं पोखरी) व्यवस्थापन लगाएतको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनाधिकृत रुपमा प्रबेश गर्दा समेत घटनाहरु हुने गरेका छन् । उहाँका अनुसार घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रबेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाईएको छ । यसका साथै निकुञ्जले मानब बन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि मेस जाली भर्ने, तारवार लगाउने, बिद्युतीय तारबार गर्ने, पक्कि पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापन लगाएतका कामहरु गरिरहेको मगरले बताउनुभयो ।








