चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य सुरु गरेको छ । राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । बैशाख १० गतेसम्म चितवन निकुञ्जले दुई जना कर्मचारी खटाएर गुँड खोज्ने कार्य गरिएको छ ।
स्थानीय वोटे समुदायका व्यक्तिहरुले गोहीको गुँड खोज्ने कार्य गरिरहेका छन् । उनीहरुले गुँड खोजेर त्यसको रेखदेख गर्ने उहाँले बताउनुभयो । वैशाख १५ गतेपछि गोहीको अण्डा संकलन गर्ने तयारी गरिएको उहाँ वताउनुभयो । गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अण्डा निकालिएको थियो । २४७ वटा अण्डा संकलन गरी कोरलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गुँड खोजेपछि कतिवटा गुणको अण्डा निकाल्ने भन्ने तय गरिने छ ।”
निकुञ्जले गोही प्रजनन् केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको थियो ।
पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।








