नवलपुर । कालीगण्डकी कोरिडोर अन्तरगत नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा पर्ने तरङ्ग खोलाको पुल निर्माणको काम अघि बढेको छ । लामो समय अलपत्र अवस्थामा रहेको पुल निर्माणको काम अघि बढेको हो । कालीगण्डकी कोरिडोर अन्तरगत नवलपुरको गैँडाकोट नगरपालिका –३ र बुलिङटार गाउँपालिका –१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन उक्त पुल विस २०७५ सालमा ठेक्का लगाएर काम सुरु गरिएको थियो ।
विस २०७६ माघ मसान्त सम्ममा काम सम्पन्न गर्ने गरि लोहनी एण्ड ब्रोदर्श प्रालीले निर्माणको जिम्मा पाएको थियो । उक्त समयमा काम सम्पन्न नभएपछि २०८१ चैत मसान्तसम्मका लागि म्याद थप गरिएको थियो । म्याद सकिने समयमा पुल अलपत्र पारेको निर्माण कम्पनी काममा फर्किएको छ । पुलको स्लयावको काम बाँकी रहेकोमा अहिले उक्त कार्य सम्पन्न गर्ने सुरसारमा निर्माण कम्पनी लागेको देखिन्छ । पुल निर्माणको कार्यमा ठेकेदारले विभिन्न बहना बनाउँदै अलपत्र पार्दा स्थानीयले सास्ती खेप्दै आएका छन् । पुल निर्माण नहुँदा पानी पर्ने बित्तिकै यस खोलामा यातायात पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ ।
पुल निर्माण नहुँदा बाटो बने पनि पानी पर्ने बित्तिकै रोकिनुपर्ने अवस्था रहेको बुलिङटारका स्थानीय खड्क बहादुर कुमालले बताउनुभयो । पुल निर्माण भए आफूहरूलाई बर्खामा समेत यात्रा गर्न सहज हुने उहाँले बताउनुभयो । पुल सहित कोरिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम रहेकाले ती स्थानहरूमा पहिरो नियन्त्रणका लागि काम गर्नुपर्ने उहाँको भनाई रहेको छ । कालिगण्डकी कोरिडोर अन्तरगत गैँडाकोट–राम्दी खण्डमा पर्ने तीस वटा पुल मध्य तरङ्ग खोलाको पुल मात्र निर्माणको काम बाँकी रहेको गैडाकोट–राम्दी–मालढुंगा सडक योजनाका सब इन्जिनियर दिवस सिलवालले बताउनुभयो ।
पुल निर्माणको काम रोकिएकोमा योजनाको ताकेताले ठेकेदार काममा फर्किएको र अब चाँडै पुल सञ्चालन गर्ने गरी आफूहरूले समन्वय गरिरहेको सब इन्जिनियर सिलवालले बताउनुभयो । ‘यस खण्डमा पर्ने अन्य सबैजसो पुल निर्माणको काम सकिएको छ , तरङ्ग खोलाको पुल पनि अब चाँडै सक्ने गरी हामीले समेत ताकेता गरिरहेका छौँ, यसपालिको बर्खामा यातायात सञ्चालनमा समस्या नहोला ’ उहाँले भन्नुभयो । गण्डकी प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको कालिगण्डकी कोरिडोरमा पर्ने तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको रु चार करोड ३५ लाख ६७ हजारमा ठेक्का लागेको थियो ।
कालिगण्डकी कोरिडोर गैडाकोट–राम्दी–मालढुंगा सडक योजनाका सब इन्जिनियर सिलवालका अनुसार कोरिडोरका गर्नुपर्ने बाँकी काम अब सडक डिभिजन कार्यालय मार्फत हुने छ । योजनाको अवधि सकिएकाले बाँकी रहेका कामहरू सडक डिभिजन कार्यालयलाई हस्तान्तरण पछि उक्त कार्यालयबाटै हुने उहाँले बताउनुभयो । नवलपुर खण्डको सडक सडक डिभिजन कार्यालय भरतपुरलाई र पाल्पा खण्डको सडक सडक डिभिजन कार्यालय पाल्पाले हेर्ने गरी अहिले हस्तान्तरणको प्रक्रियामा लागेको उहाँले सब इन्जिनियर सिलवालले बताउनुभयो ।








