चितवन । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षका लागि १ लाख ९३ हजार ४१० बिरुवा हुर्काएको छ । कार्यालय परिषरमा रहेको नर्सरीमा ती बिरुवा उत्पादन गरेर हुर्काईएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वन पैदावार आपूर्ती समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काईएको हो । जसमा जडीबुटी बिरुवा, डाले घाँस, फलफुल तथा वहुउपयोगी बिरुवा, बहु बर्षिय बिरुवाहरु रहेका छन् । आपूर्ती समितिबाट १ लाख २० हजार, डिभिजन वन कार्यालय तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय मार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डाले घाँस, फलफुल तथा वहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुबर्षिय उत्पादन गरि हुकाईएको छ । आपूर्ती समितिबाट उत्पादित बिरुवका जात छुट्याउने काम भईरहेको छ ।
यहाँबाट डालेघाँस, ठूला रुख जन्य बिरुवा र वहुउपयोगी बिरुवाहरु उत्पादन हुँदै आएको छ । वहुबर्षिय बिरुवाहरु सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछ । सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि यी बिरुवा प्रयोग हुने गरेको छ । उहाँले भन्नुभयो “बहुबर्षिय बिरुवाहरुले बृक्षारोपणलाई सफल वनाउन सहयोग पुग्छ ।”
अघिल्ला बर्षका बिरुवाहरु कम भएकाले यस वर्ष धेरै बिरुवा उत्पादन गर्न लागिएको पौडेलले बताउनुभयो । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उहाँले भन्नुभयो “असार १५ गते देखि बितरण गर्ने गरी बिरुवा उत्पादनको काम भईरहेको छ ।”
कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवाहरु उत्पादन गरीरहेको छ । जसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, वेल, तेजपत्ता, चाप, निवुवा, अम्बा, वडहर, टाँकी, कोइराला लगाएतका बिरुवा रहेको पौडेलले बताउनुभयो ।








