रत्ननगर । चितवनमा जारी ३० औँ वन्यजन्तु सप्ताहअन्तर्गत बिहीबार रत्ननगरको सौराहास्थित बूढीराप्ती नदी क्षेत्रको सरसफाइ गरिएको छ। बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ सम्पन्न भएको हो। नदी सफाइपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूवनेश्वर चौधरी (विपी)ले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए।
वातावरण र प्रकृति संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले नदी प्रदूषण रोक्न एकजुट हुनुपर्नेमा जोड दिए।चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठले निकुञ्ज आसपासका नदीहरूमा मानव बस्तीको वृद्धिका कारण जलचर प्राणी सङ्कटमा परेको बताए। मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाहरूको उल्लेख्य सहभागिता नहुनु दुखद् भएको बताए।यसैगरी, वन्यजन्तु सप्ताहअन्तर्गत चित्रसेन र बाघमारा वनको सिमानामा बग्ने बूढीराप्ती खोलामा डुङ्गा सयर आयोजना गरिएको छ।
वैशाख ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, वैशाख ६ गते वन्यजन्तु र वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक र्याली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षण: सम्भावना र चुनौती’ विषयमा अन्तरक्रिया र संरक्षणमा योगदान पुर्याउनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए।मृगकुञ्जको अगुवाइमा सञ्चालित वन्यजन्तु सप्ताहमा स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष, सामुदायिक वन, सौराहाका पर्यटनसँग सम्बन्धित सङ्घसंस्थासहित २६ वटा सङ्घसंस्था सहभागी छन्।








