चितवन । नेपाल सुनचाँदी व्यवसायी संघ, चितवनले सुन र सुनका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) तत्काल खारेज गर्न माग गरेको छ। संघले चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै, करका कारण व्यवसाय सञ्चालनमा गम्भीर चुनौती उत्पन्न भएको जनाएको छ। संघका अध्यक्ष हेमबहादुर बिश्वोकर्माले सुनको मूल्य आकाशिँदै गएको र त्यससँगै विभिन्न नाममा कर थपिँदा व्यवसायमै संकट आउने अवस्था सिर्जना भएको बताए। उनले सरकारसँग बारम्बार आग्रह गर्दा पनि सुनवाई नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।
ज्ञापनपत्र बुझाउने क्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती बिकले हिरा र बहुमूल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत VAT पनि तत्काल पुनर्विचार गरी खारेज गर्न माग गरेका छन् । संघले राखेका अन्य प्रमुख मागहरूमा निम्न बुँदाहरू छन्: • सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न ऐन, नियम तथा नीतिहरूको निर्माण, • कर संरचना परिवर्तन गर्नु पूर्व त्यसको व्यवसाय, रोजगारी र बजारमा पर्ने असरबारे विस्तृत अध्ययन, • व्यवसायमैत्री नीति निर्माणमार्फत सुनचाँदी क्षेत्रलाई स्थायीत्व दिनु पर्ने।
ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष हेमबहादुर बिश्वोकर्मा, वरिष्ठ उपाध्यक्ष उत्सव खाती बिक, द्वितीय उपाध्यक्ष मोहन पन्थी, तृतीय उपाध्यक्ष शोभा बराली, महासचिव गोपालबहादुर बिक थापा, कोषाध्यक्ष रमेशचन्द्र सदा शंकर, सह–कोषाध्यक्ष भीमप्रसाद बिक, सचिव प्रेमबहादुर बिक, प्रबक्ता लालबहादुर बिक (सुरज), सदस्य लक्ष्मण बिक र आमन्त्रित सदस्य राजु खातीको उपस्थिति रहेको थियो। ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले व्यवसायीहरूले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै, संघका जायज मागहरू सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने “व्यवसायीका जायज माग पुरा गर्न सरकार सँधै तयार छ,” ।









