रत्ननगर । रत्ननगर नगरपालिकाको न्यायिक समितिमा यो आर्थिक वर्षमा दर्ता भएका १०१ वटा मुद्दामध्ये ७६ वटा मुद्दा छिनोफानो भएको तथ्यांकले देखाएको छ। नगरपालिकाको न्यायिक समितिले प्रभावकारी ढंगले विवाद समाधानको कार्यलाई तीव्रता दिएको छ, जसले स्थानीयस्तरमा मेलमिलाप र न्याय सम्पादनमा उल्लेखनीय प्रगति देखिएको छ। नगरपालिकाका उपमेयर तथा न्यायिक समिति संयोजक यादव प्रसाद पाठकका अनुसार यो आर्थिक वर्षमा दर्ता भएका १०१ मुद्दामध्ये ४३ वटा नगरस्तरीय मेलमिलाप समितिमा पठाइएको थियो भने २४ वटा मुद्दा वडास्तरमा पठाइयो।
न्यायिक समितिले प्रत्यक्ष रूपमा ३३ वटा मुद्दा हेर्यो, जसमध्ये २० वटा छिनोफानो भई टुंगिएको र बाँकी १३ वटा प्रक्रियामा रहेको उनले बताए। साथै, एउटा मुद्दा नक्सा फाँटमा पठाइएको र त्यो पनि प्रक्रियामा रहेको जानकारी उनले दिए। मेलमिलाप समितिका कोषाध्यक्ष अनिता अर्यालले न्यायिकबाट मेलमिलापमा आएका ४३ मुद्दामध्ये ३३ वटा छिनोफानो भएको, ३ वटा अदालतमा पठाइएको र १० वटा प्रक्रियामा रहेको बताइन्। त्यस्तै, वडास्तरमा पठाइएका २४ मुद्दामध्ये २३ वटा छिनोफानो भई एकमात्र मुद्दा प्रक्रियामा रहेको उनले जानकारी दिइन्।
उनले रत्ननगरमा विशेषगरी घरायसी विवाद, झैझगडा, जग्गा किचलो अंशबण्डा, सम्बन्ध विच्छेद, लेनदेन, शिक्षादीक्षा, घरभाडा असुलीजस्ता मुद्दाहरु मेलमिलापबाटै किनारा लगाउने गरिएको उनले बताइन् । यो तथ्यांकलाई हेर्दा वडास्तरीय मेलमिलाप समितिले ९५ प्रतिशत, नगरस्तरीय मेलमिलाप समितिले ७६ प्रतिशत र न्यायिक समितिले ६० प्रतिशत मुद्दा छिनोफानो गरेको देखिन्छ। समग्रमा, यो आर्थिक वर्षमा दर्ता भएका १०१ मुद्दामध्ये ७६ प्रतिशत टुंगोमा पुगेको छ, जुन स्थानीय न्याय सम्पादनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ।
वि.सं. २०६० देखि मेलमिलापको कार्य गर्दै आएको मेलमिलाप समितिले अघिल्लो आर्थिक वर्षमा दर्ता भएका सबै ३४ वटा मुद्दा छिनोफानो गरेको सचिव संगिता खनालले बताइन्। यो निरन्तरताले रत्ननगर नगरपालिकाको न्यायिक र मेलमिलाप प्रणालीप्रति स्थानीयको विश्वास बढाएको छ।








