काठमाडौं । आज विश्व टेलिभिजन दिवस । यो दिवश टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीबारे संसारभर विभिन्न छलफल र कार्यक्रमको आयोजना गरी संसारभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसमनाउने निर्णय गरेअनुरुप यो दिवस मनाउन थालिएको हो । आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्ने बेला भएको उल्लेख गरेका छन् । सबै अनलाइन टिभीकर्मीलाई सङ्गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उनीहरुले सबैलाई आह्वान गरेका छन् । अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्घले जानकारी दिएको छ । नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढी रहे पनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन ।








