रत्ननगर । जिपी फाउन्डेसन चितवनको संयोजन तथा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र नं-१ को आयोजनामा नेपाली कांग्रेसका पूर्वसभापति एवम् लोकतन्त्रका शिखर पुरुष, शान्ति नायक स्व. गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा दीप प्रज्वलन कार्यक्रम रत्ननगर-२, टाँडीचोकमा सम्पन्न गरिएको छ ।
जिपी फाउन्डेसन चितवनका संयोजक कमल आचार्यको अध्यक्षता एवम् कांग्रेस जिल्ला सभापति राजेश्वर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका नेताहरु जिल्ला उपसभापति राजीव पौडेल, कुमार कार्की, रुपनराज घिमिरे, कांग्रेस नगरसमितिका कार्यवाहक सभापति कमलनाथ अधिकारी, सचिव अनिता अर्याल, गीता देवकोटा, नीता ढकाल, माधव अर्याल, रामचन्द्र पौडेल, सीतादेवी शर्मा, बिबी भट्ट, दिवाकर अर्याल, कल्याण अर्याललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र नं-१ का सभापति गोविन्द गौतमले नेपालमा सशस्त्र द्वन्द्वको अन्त्य गरी द्वन्द्वरत पक्षलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वसभापति कोइरालाकै नेतृत्वमा २०६५ जेठ १५ गते २४० वर्षे शाहवंशको अन्त्य भई संघीय लोकतन्त्रको स्थापना भएको बताए । नेता कोइरालाले देखाएको बाटोमा अगाडि बढ्दै गणतन्त्रलाई बलियो बनाउनु आजको अपरिहार्यता रहेको उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेसका नेताहरुले लोकतन्त्रका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको योगदान र शान्ति प्रक्रियामा उनले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु बालकृष्ण चापागाईं, किरण महतो, कलाधर पौडेल, धीरेन्द्रप्रसाद घिमिरे, गोपी विडारी, वीरेन्द्र महतो, देवेन्द्र भुजेल, कमला भट्टराई, राधा विकलगायतको सहभागिता रहेको थियो ।








