चितवन । “नर्सिङ पढाइदिन्छु” भन्दै सुर्खेतबाट ल्याइएका २३ जना बालिकालाई प्रहरीले चितवनबाट उद्धार गरेको छ । ५ वर्षदेखि १७ वर्ष उमेर समूहका ती बालिकालाई भरतपुर महानगरपालिका -११ मा घर भाडामा लिइ संचालनमा रहेको ‘आमाको काख नामक संस्थाबाट सोमबार प्रहरीले उद्धार गरेको हो । संस्था सञ्चालक चितवनकै २७ बर्षकी की पवित्रा रिजाल सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार संस्था कुनै कानुनी प्रक्रिया पुरा नगरी अवैधानिक रूपमा सञ्चालन गरिएको पाइएको चितवनका प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले संस्थाबाट बालिकाहरूलाई उद्धार गरेको हो। बालिकाहरू अहिले जिल्ला भित्रकै दुईवटा संरक्षण गृहमा राखिएको छ।
प्रहरीका अनुसार संस्था व्यवसायका लागि दर्ता गरिएको भए पनि बालबालिका ल्याउनका लागि आवश्यक सरकारी अनुमतिहरू लिइएको थिएन। जिल्ला बालकल्याण अधिकारी शान्ता कुमारी पौडेलले बिना दर्ता संस्था सञ्चालन गरिनु गम्भीर अपराध भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो।
“संस्थाले बालबालिकासम्बन्धी कानुनको खुलेआम उल्लंघन गरेको छ,” पौडेलको भनाइ छ, “संस्थाले के बालगृहको अनुमति लिएको थियो, के विद्यालयसँग आधिकारिक सहमति थियो—केही छैन। यस्तो काम झनै संवेदनशील समुदायका बालिकासँग गरिनु गम्भीर विषय हो।”उद्धार गरिएका बालिकामध्ये १७ जना एउटै वडाका र सबै बादी समुदायका रहेका छन्। सबै बालिकाहरुका बाबुआमा जीवित छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि ती परिवारहरूसँग सम्पर्क गरी बच्चाहरूलाई पुनः एकत्रित गर्ने तयारी गरिरहेको जनाएको छ।
सञ्चालक भन्छिन्: “पढाउन ल्याएकी हुँ, पैसाको जोहो गर्दै छु”
प्रहरी नियन्त्रणमा रहेकी संस्था सञ्चालक पवित्रा रिजालले आफूले दाताबाट सहयोग पाउने आशामा आर्थिक जोखिम उठाएको भन्दै परिवारको सहमतिमै ल्याएको दाबी गरेकी छन्। उनका अनुसार, “मैले चार तोला सुन राखेर ऋण लिएको छु, १० धुर जग्गा बेच्न लागेकी छु। केही दाताले पनि सहयोग गर्ने भनेका छन्। मैले त क्यानडाको भिसा छोडेर नेपालमै केही राम्रो गर्छु भनेर बसेको हुँ।”
तर विद्यालय छनोट प्रक्रिया भने अझै टुंगोमा पुगेको छैन। उनले भनिन् केही विद्यालयसँग छलफल भएको छ तर कुन विद्यालयमा पढाइने भन्ने निस्कर्षमा पुगिएको थिएन |सो सस्था १ महिना अघि मात्र खुलेको उनको भनाइ छ |
मानव बेचबिखनको शंका, प्रशासन सतर्क
प्रहरी र प्रशासनका अनुसार बालबालिकालाई अवैध रूपमा संस्थामा राखेर राख्ने, प्रलोभन देखाएर टाढाबाट ल्याउने, अभिभावकलाई गुमराहमा पार्ने कार्यहरू आन्तरिक रूपमा मानव बेचबिखनतर्फ पनि संकेत गर्ने खालका छन्।
बालिकाहरू आफैंले पनि आफूहरू पढ्ने आशामा आएको तर आश्रममा आएपछि अन्यौल सिर्जना भएको बताउँदै चिन्ता व्यक्त गरेका छन्। “सानैदेखि पढ्न पाइने आशामा आश्रम आउँछौँ, तर भविष्य झन् अन्यौलमा पर्छ,” एक उद्धार गरिएको बालिकाले भनिन्।
बालिकाहरू ल्याउन सिफारिस गर्ने स्थानीय वडाध्यक्षलाई पनि बयानका लागि बोलाइएको छ। प्रहरी र सरकारी वकिलबीच समन्वयमा थप अनुसन्धान भइरहेको छ।








