अष्ट्रेलिया । सामाजिक सञ्जाल, विशेषगरी TikTok लगायतका मिडिया प्लेटफर्महरूमा आफ्नो व्यक्तिगत जीवनसम्बन्धी टिकाटिप्पणी र भिडियोहरू फैलिएकोप्रति प्रतिक्रिया दिँदै बिष्णु सापकोटाले एक सार्वजनिक विज्ञप्ति जारी गरेका छन्। सापकोटाले आफू र अर्का पक्षबीचको सम्बन्ध पारस्परिक समझदारीमा टुंगिएको बताउँदै, कानुनी प्रक्रिया पूरा भइसकेको र अब अदालतको निर्णय कार्यान्वयनमा रहेको उल्लेख गरेका छन्।
उनले आफू सार्वजनिक रुपमा नबोली बस्नु कमजोरी नभई आत्मसंयम भएको स्पष्ट पारेका छन्। आत्ममूल्यांकन र आत्मउपचार (self-healing) को बाटो रोजेको बताउँदै उनले मिडिया वा सामाजिक सञ्जालमार्फत व्यक्तित्व, परिवार वा व्यवसायप्रति गरिने नकारात्मक टिप्पणीहरूले मानसिक असर पारिरहेको भन्दै आपत्ति जनाएका छन्। उनले कानुनी प्रक्रिया बाहिर गएर चरित्र हत्या गर्न खोज्नु न नैतिक, न सामाजिक, न कानुनी दृष्टिले उचित हुने धारणा राखेका छन्।
साथै, सबै पक्षलाई आपसी सम्मानका साथ व्यवहार गर्न आग्रह गर्दै भविष्यमा एकतर्फी र अमर्यादित गतिविधि नगर्न चेतावनी पनि दिएका छन्। सापकोटाले आफू अष्ट्रेलिया र नेपाल दुबै देशको कानुनी प्रक्रियामा पूर्णतः आस्थावान् रहेको बताएका छन्।








