काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने ४ ल्यावलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको जानकारी दिएका हुन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी अस्पतालमा पिसिआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि हङकङ, दुबई र जापान गएका व्यक्तिको रिपोर्ट पोजेटिभ आएको भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको थियो। त्यसपछि मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशकको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।








