चितवन । रत्ननगर नगरपालिका वडा नं. ५ टरौलीमा बुधबार श्रीराम मन्दिरको शिलान्यास गरिएको छ। वागमती प्रदेश सभा सदस्य तथा पूर्वप्रदेश मन्त्री कृष्णप्रसाद खनालले मन्दिरको शिलान्यास गरेका हुन्। शिलान्यास समारोहमा बोल्दै खनालले धर्म र संस्कृतिले समाजलाई अनुशासित बनाउने बताउँदै टरौलीमा निर्माण हुने यो मन्दिरले सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। मन्दिर निर्माणको लागि मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले २ लाख रुपैयाँ सहयोग गरेको छ भने जग्गादाता कृष्णचन्द्र कुँवर र उनकी धर्मपत्नी मेनुका कुँवरलाई सम्मान गरिएको छ।
२५ लाख रुपैयाँ लागत अनुमान गरिएको मन्दिर निर्माणमा तीनै तहका सरकार, विभिन्न संघसंस्था र धार्मिक व्यक्तित्वहरूको सहयोग जुटाएर निर्माण कार्य अघि बढाइने मन्दिर निर्माण समितिका अध्यक्ष सागर मिश्रले बताए। उनले मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको खुलासा गरे। कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँले स्थानीय सरकार धर्म र संस्कृति संरक्षणप्रति प्रतिबद्ध रहेको बताउँदै मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। मृगकुञ्जका अध्यक्ष दुर्गा प्रसाद घिमिरे, वडा सदस्य निलु चापागाईँ, मृगकुञ्ज सदस्य द्रोपती महतो, गोपीप्रसाद लम्साल, टिकाराम कुँवर, कुमारप्रसाद धमला, विष्णु सुवेदी, रामेश्वर मिश्र, गोविन्दराज नेपाल, कमला रोका, घनश्याम पाण्डे, दिनेश पाण्डेलगायतको उपस्थिति रहेको थियो।
शिलान्यासकै अवसरमा ओम बहादुर कुँवरले २५ हजार ५५५, सुरज खड्काले ११ हजार २५५, पहल बहादुर कुँवरले ५ हजार ५५५, ध्रुब कंडेलले ५ हजार ५, आविष्कार रिजाले ५५५ र रमा घलेले ५०५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा लवचन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने श्रीराम चौधरीले सञ्चालन गरेका थिए। मन्दिर निर्माण समितिका अध्यक्ष सागर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमले टरौलीमा धार्मिक र सांस्कृतिक जागरण ल्याउने अपेक्षा गरिएको छ।








