काठमाडौँ । भारतीय नेशनल डिफेन्स कलेजमा सञ्चालन भई रहेको नेशनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थी एवं सङ्काय सदस्यहरू सम्मिलित भ्रमण दल अध्ययन भ्रमणको क्रममा नेपाल आएको छ ।
प्रधान सेनापति अशोक राज सिग्देल र भारतीय नेशनल डिफेन्स कलेजकाका एडिसनल सेक्रेटरी आइआरपीएस, रेखा यादवबीच जङ्गी अड्डा भ्रमणका दौरान शिष्टाचार भेटघाट भएको छ । शिष्टाचार भेटघाट पश्चात् भ्रमण दलका सदस्यहरूलाई नेपाली सेनाको बारेमा जानकारी समेत गराइएको थियो ।
नेभरहुड स्टडी टूर अन्तर्गत नेपाल भ्रमणमा आएको भ्रमण दलले काठमाडौँ लगायत नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस किसिमको अध्ययन भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।








