चितवन । झुप्रोमा पुस्तौ काटेका खैरहनी कठारका मुसहरहरुले पक्की घर पाएका छन् । उनीहरुका लागि खैरहनी नगरपालिका र संघीय सरकारको लगानीमा घर निर्माण गरिएको हो । खैरहनी वडा नम्वर १० कठारमा वर्षौदेखी वस्दै आएका उनीहरुलाई संघीय सरकारको तराई मधेश समृद्धी कार्यक्रमको सहयोगमा नगरपालिकाले पक्की घर निर्माण गरेको हो । मुसहर समुदाय सिमान्कृत समुदायको रुपमा चिनिन्छन् । यहाँका २८ घरधुरी मुसहरहरुलाई पक्की घर निर्माण गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले वताए । घर संख्या १४ भएपनि एउटा घरको दायाँवायाँ तीन तीन वटा कोठा निर्माण गरिएको छ । प्रत्येक परिवारका लागि शौचालयको समेत सोही घरमा व्यवस्था गरिएको छ । एक वर्षको वजेटले निर्माण सम्पन्न नभएपछि अर्को वर्षको वजेटले घरलाई पूर्णता दिईएको छ । आर्थिक वर्ष २०७५÷७६ मा संघीय सरकारको तराई मधेश समृद्धी कार्यक्रमबाट ६० लाख र खैरहनी नगरपालिकाको १५ लाख तथा आर्थिक वर्ष २०७६÷०७७ मा संघीय सरकारबाट थप ३० लाख र खैरहनी नगरपालिकाको झन्डै १९ लाख रुपैया लगानी भएको छ । एक करोड २४ लाख रुपैया खर्च भईसकेको खैरहनी नगरपालिका मेयर चौधरीले वताए । संघीय सरकारले एकिकृत नमुना मुसहर वस्ती नाम दिएर वजेट विनियोजन गरेको थियो । निर्माण गरिएका घरहरुमा विजुली वत्तीका लागि नगरपालिकालेनै वाईरिङको व्यवस्था गरेको छ भने सामुहिक धारा जडान गरिएको छ । सवै घर एकै डिजाईन,एउटै रंगको छ । झण्डै ५० वर्षदेखी फुसको घरमा यहाँका मुसहरको वस्दै आएका छन् मेयर चौधरीले भने – यस्ता समुदायको उत्थान विना नगर समृद्ध नहुने हुँदा उनीहरुलाई प्राथमिकता दिएका हौ । घाम लाग्दा जेनतेन दिन काट्ने उनीहरु पानी पर्दा कष्टकर जिवन विताउँदै आएका थिए । नयाँ घर पाएका मुसहर समुदाय भने खुसी भएका छन् । घर निर्माण समितिले जनप्रतिनिधीहरुको रोहवरमा गोलाप्रथा गरेर उनीहरुलाई घर हस्तान्तरण गरिएको खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले वताईन । घर निर्माणका लागि युवा समाजसेवी जीताराम चौधरीको अध्यक्षतामा उपभोक्ता समिति वनाईएको थियो । उनीहरुले पक्की घरमा वस्न पाईएला भनेर सोचेका पनि थिएनन् । फुसको घर घामपानीले काम नलाग्ने अवस्थामा पुगेपछि त्रिपालले टालटुल पारेर निर्वाह गर्दै आएका भोला माझीले कंक्रिटको घर पाउँदा खुसी व्यक्त गरे । घामपानीले भित्र वस्ने अवस्था थिएन् भोलाले मुहार खुसी पार्दै भने – वस्नको लागि राम्रो र सुरक्षित घर पाउँदा खुसीको सिमा छैन् । घर मात्रै भएर जिवन परिवर्तन नहुने भएकाले यहाँका महिलाहरुलाई विभिन्न शिपमुलक तालिम समेत दिईएको उपमेयर थपलियाले वताईन् । सिलाई कटाई तालिम दिएर मेसिन समेत सहयोग गर्नुका साथै प्रत्येक घरलाई एक एक वटा वंगुरको पाठा समेत वितरण गरिएको उनले जानकारी दिईन् । सो वस्ती नमुना वनाउनका लागि कम्पाउण्डवाल,सामुदायिक वन निर्माण र मोजाक टायल समेत विच्छाउने योजना रहेको छ । घर निर्माणाधिन अवस्थामा मुसहर वस्ती अवलोकनका लागि आएका मुख्यमन्त्री डोरमणी पौडेलले आवश्यक सहयोग गर्ने त्यही वेला आश्वासन दिएका थिए । तर लकडाउनले त्यो काम पुरा हुन सकेन ।
थप ३१ घरधुरी सुकुम्वासी व्यवस्थापन
खैरहनी नगरपालिकाले वर्षौदेखी सडक अतिक्रमण गरेर वसेकाहरुलाई व्यवस्थापनको काम पनि गरेको छ । नगरका विभिन्न स्थानमा सडक अतिक्रमण गरेर वसेका ३१ घरपरिवारलाई एउटै स्थानमा घर निर्माणमा सहयोग गरेर व्यवस्थापन गरिएको हो । नगरपालिका कार्यालय अगाडीको पुरानो राजमार्गमा वसेका १४ घर, तरकारी चोकको १४ घर र वहेरीको एक घरलाई वहेरीमै रहेको ऐलानी जग्गामा व्यवस्थापन गरिएको खैरहनीका मेयर लालमणि चौधरीले वताए । उनीहरुको घर निर्माणका लागि नगरपालिकाले जस्ता,कंक्रिटको खाँवो तथा शौचालयका लागि रिङ र प्यान प्रदान गर्नुका साथै धारा समेत जडान गरिदिएको छ ।








