चितवन । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा ११ औं संविधान दिवसको अवसरमा “संविधान कार्यान्वयनका चुनौती र समाधान” विषयक विचार गोष्ठी आज सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा राख्दै नेपालको संविधानमा आवश्यक संशोधन गरी जेन-जी पुस्ताको अपेक्षा अनुरूप स्थायी सरकार निर्माण र भ्रष्टाचारमुक्त समाज स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी संविधान सभा सदस्य शेषनाथ अधिकारीले संविधान र व्यवस्थाको रक्षा सबैको जिम्मेवारी भएको उल्लेख गर्दै निर्धारित समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सबै नागरिक सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभयो । जिल्ला सभापति राजेश्वर खनालले कार्यक्रमको अध्यक्षता गर्दै नेपाली कांग्रेस जेन-जी पुस्ताको मागलाई आत्मसात गर्न तयार रहेको बताउनुभयो ।
लामो समयदेखि खुला राजनीति र सरकारमा रहँदै आएको नेपाली कांग्रेस पार्टीले राष्ट्र र बहुसंख्यक नागरिकको पक्षमा काम गरेको छ यद्दपी केही कमजोरी समेत भएको स्वीकार गर्दै त्यसलाई सच्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले आन्दोलनमा सहादत प्राप्त गर्ने वास्तविक युवाप्रति श्रद्धा प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो भने केन्द्रिय सभापतिप्रति भएको अमानवीय व्यवहारको घोर भर्त्सना गर्दै मुलुकभर भएको सरकारी तथा निजी सम्पत्तिको क्षतिको जिम्मेवारी आन्दोलनमा घुसपैठ गर्ने पक्षले लिनुपर्नेमा जोड दिनुभयो। साथै, उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने पक्षमा वर्तमान सरकार र नेपाली कांग्रेस दृढ रहेको स्पष्ट पार्नुभयो।
विचार गोष्ठीमा विषयसंग सम्बन्धित धारणा वरिष्ठ अधिवक्ता एकनारायण सापकोटा, नेपाली कांग्रेस चितवनका कानुनी सल्लाहकार अधिवक्ता गोबिन्द सिग्देल, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ (DLA) चितवनका अध्यक्ष श्रीराम दवाडी, तथा जेन-जी युवा समूहका तर्फबाट युवा कानुन व्यवसायी उमङ्ग लोहनीले राखेका थिए । वक्ताहरूले संविधान अनुसार आवश्यकताको सिद्धान्तका आधारमा राष्ट्रपतिद्वारा सरकार गठन भएको उल्लेख गर्दै निर्धारित समयमा निर्वाचन हुनुको विकल्प नभएको स्पष्ट धारणा प्रस्तुत गरेका थिए । जिल्ला सचिव ध्रुवराज पोख्रेलले सञ्चालन गर्नुभएको आजको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सदस्यहरू, कानुन व्यावसायी, प्राध्यापक लगायतका सर्वसाधारण महानुभावहरूको वृहत उपस्थिति रहेको थियो ।








