चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षौंदेखि समस्या बनेको पहिरो यात्रु मात्र होइन, खटिएका सुरक्षाकर्मीका लागि पनि असली चुनौती बनेको छ। ती चुनौतीहरूलाई आफ्नै जीवनको जोखिम मानेर पनि दिनरात खटिरहेका छन् मुग्लिन प्रहरी चौकीका इन्सपेक्टर प्रतिक सिंह र उहाँको टोली। सूर्य उदाउनु अघि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ, रात पर्नासाथ थकाइले शरीर भारी भए पनि उनीहरूको सेवा भाव कम हुँदैन। यात्रु सुरक्षित फर्किँदासम्म, सास फेर्ने बाटो खुल्दासम्म, उनीहरूले आफूलाई विश्राम दिन्दैनन्।
यतिबेला विजयादशमीको उत्सव देशभर मनाइँदै गर्दा पनि प्रहरीको टोलीले आराम गर्ने फुर्सद पाएका छैनन्। बर्खाको कहर र सडक अवरुद्धताबीच यात्रुलाई सुरक्षित बनाउन उनीहरू अझै पनि त्यही उत्साहसहित खटिइरहेका छन्। यसबीच जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले समेत सडकखण्डमा पुगेर काम चाँडो पूरा गर्न निर्देशन दिने मात्र होइन, खटिएका प्रहरीलाई निरन्तर हौसला प्रदान गरिरहेका छन्।
सडक डिभिजन कार्यालय, स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सक्रियता पनि प्रशंसनीय छ। तर पहिरोबीच यात्रुको मनमा ढुक्क दिलाउने शक्ति प्रहरीको अनुशासन, इमानदारी र निरन्तर उपस्थितिबाट आएको हो भन्नेमा शंका छैन। इन्सपेक्टर प्रतिक सिंह र उहाँको टोलीको यो समर्पण हरेक यात्रुका आँखामा कृतज्ञताको उज्यालो बनेर झल्किएको छ।








