काठमाडौँ । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहे आज एकदिवसीय नेपाल भ्रमणमा आउँदैछन् । एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट चिनियाँ रक्षामन्त्री फेङहे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे अवतरण गर्ने बताइएको छ । काठमाडौँ बसाईमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् । चिनियाँ रक्षामन्त्री फेङहेले कानून कार्यान्वयन गर्ने निकायबीच सूचना आदानप्रदान, सैन्य क्षमता अभिवृद्धि, नेपाली सेनालाई प्रशिक्षण, जनमुक्ति सेना र नेपाली सेनाबीचको संयुक्त अभ्यासको निरन्तरता, जनमुक्ति सेनाका अधिकृतको नेपालमा तालिम, द्विपक्षीय सुरक्षा सहयोगअन्तर्गत अघिल्लो जेठमा घोषित १५ करोड आरएमबी बराबरको सैन्य सहयोग ‘प्याकेज’, कोरोनाका कारण स्थगन भएका सुरक्षा क्षेत्रमा सहयोग अभिवृद्धि गर्न दुवै देशका सुरक्षा अधिकारीबीच भ्रमणको आदानप्रदान तथा अन्य कार्यक्रमसहित विपत्ति रोकथाम तथा न्यूनीकरणबारे रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीसँग छलफल हुने बताइएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणपूरा भएको झण्डै एकवर्षपछि उच्चस्तरमा पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीनले नेपाललाई प्राथमिकतामा राखेको पुनर्पुष्टि पनि गरेको छ । उनी आजै स्वदेश फिर्ता हुनेछन् । दुई दिनअघि मात्र भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल भ्रमण गरेका थिए ।








