काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ । बैँकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गर्न सहयोग गरेको हो । यस सम्बन्धमा आईतबार आयाेजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायबिच समझदारीपत्रमा हस्तारक्षर भएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरता लगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सिएसआर मार्फत सहयोग गरेको बताए । यस्तै, बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.उपाध्यायले दुईवर्ष भन्दा कम उमेर समुहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रुपमा चयन गरिएको जानकारी गराए । कार्यकममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेल, ईनिशियटिभका पार्टनरसिप डाइरेक्टर उत्सव ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका थिए ।








