चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको आसन्न निर्वाचनलाई लक्षित गर्दै शिरीष पन्तले चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको हक, हित र सुरक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चितवनका होटल तथा रेष्टुरेन्ट व्यवसायी दाजुभाइ तथा दिदीबहिनीलाई सम्बोधन गर्दै पन्तले व्यवसाय सञ्चालनमा देखिएका व्यवहारिक समस्या समाधानका लागि स्पष्ट दृष्टिकोणसहित आफू मैदानमा उत्रिएको बताए। उनले २४ सै घण्टा व्यवसाय सञ्चालनको पक्षमा स्पष्ट नीति, संस्थागत सुशासन र पारदर्शिताप्रति दृढ प्रतिबद्धता रहेको उल्लेख गरे।
पन्तले अनुभवी व्यवसायीको सम्मान गर्दै युवालाई अवसर, प्रोत्साहन र नेतृत्वमा अघि बढाउने नीति आफ्नो प्रमुख एजेन्डा रहेको बताए। व्यवसायीको सुरक्षा र सम्मान बिना दिगो विकास सम्भव नहुने उनको भनाइ छ ।
चितवनको होटल तथा रेष्टुरेन्ट व्यवसायलाई अझ सशक्त, सुरक्षित र मर्यादित बनाउने यात्रामा व्यवसायीहरूको विश्वास, साथ र सहयोग नै आफ्नो सबैभन्दा ठूलो शक्ति रहेको पन्तको भनाइ छ।
सकारात्मक सोच, उत्तरदायी नेतृत्व र दिगो परिवर्तनका लागि एकजुट हुन उनले व्यवसायी समुदायसँग आग्रह गरेका छन्।








