चितवन । कृषि क्षेत्रको आधुनिकीकरण तथा नवीन प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.को आयोजनामा यस वर्ष पनि ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ। उक्त अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी यही माघ २ देखि ४ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि सम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहनेछन्।
यस अवसरमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम तथा वित्तीय सेवासम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ। उक्त प्रदर्शनीमा देश तथा विदेशबाट आएका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधि तथा कृषकहरूले आधुनिक कृषि प्रविधिबारे जानकारी लिनुका साथै आफ्ना जिज्ञासा समाधान गर्ने अवसर पाउने आयोजकको विश्वास छ।
हाल प्रदर्शनीका लागि सीमित स्टलहरू मात्र बाँकी रहेको र स्टल बुकिङ तीव्र गतिमा भइरहेको जनाइएको छ। निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा साना कृषि औजारदेखि लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणहरूको प्रदर्शन तथा प्रत्यक्ष डेमोसमेत गरिनेछ। यसले नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रदर्शनीमार्फत नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान हुने, तिनको प्रयोगबाट कृषि उत्पादन वृद्धि भई देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रवर्द्धकका रूपमा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेका छन्। साथै राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।








