चितवन । युनाइटेड टेक्निकल कलेजले JUME भोल्युम–३ जर्नलको औपचारिक सार्वजनिक कार्यक्रमसँगै सम्मान तथा अवार्ड वितरण समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा खेलकुद सप्ताहका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमका सभापति तथा कलेजका प्राचार्य प्रा.डा. माधव प्रसाद कोइरालाले JUME भोल्युम–३ को औपचारिक उद्घाटन गर्दै कलेज शैक्षिक अनुसन्धान, नवप्रवर्तन र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा निरन्तर क्रियाशील रहेको उल्लेख गरे। उनले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै संस्थाको शैक्षिक प्रतिष्ठा समेत उकास्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ इन्जिनियर बाबुराम उपाध्याय तथा डा. कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरूको शैक्षिक उपलब्धि, अनुशासन र सृजनशीलताको प्रशंसा गरे। उनीहरूले निरन्तर मेहनत, अनुशासन र लगनशीलताले मात्र दीर्घकालीन सफलता हासिल गर्न सकिने भन्दै विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा अझ सक्रिय रहन प्रेरित गरे।
समारोहमा स्नातक तथा स्नातकोत्तर तहमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। स्नातकोत्तर (M.Sc.) तहमा ४.० जीपीए हासिल गर्ने नारायण प्रसाद अधिकारी, जीवन श्रेष्ठ र सुबोध अधिकारीलाई विशेष नगद पुरस्कारसहित सम्मान गरिएको थियो। त्यसैगरी स्नातक (BE) कार्यक्रम अन्तर्गत उत्कृष्ट नतिजा प्राप्त गर्ने चार जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
कलेज सञ्चालक समितिका अध्यक्ष चुडामणि खनालले विद्यार्थीहरूको उज्ज्वल भविष्यप्रति विश्वास व्यक्त गर्दै कलेजले आगामी दिनहरूमा शैक्षिक, सह–पाठ्यक्रम तथा अनुसन्धानमुखी गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।
त्यसैगरी शिक्षक तथा कर्मचारीतर्फ विभागीय प्रमुख ई. निरज बोहरा र लाइब्रेरियन मीरा प्याकुरेललाई कलेजको शैक्षिक सेवामा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको थियो। खेलकुद सप्ताह अन्तर्गत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूको सक्रिय सहभागितामा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले सम्पूर्ण समारोहलाई थप उत्साहपूर्ण र स्मरणीय बनाएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका कार्यकारी अधिकृत विनोद ढकालले युनाइटेड टेक्निकल कलेजले विद्यार्थीहरूको समग्र विकासलाई केन्द्रमा राख्दै यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा आयोजना गर्दै आएको जानकारी दिए।








