रत्ननगर । नेपाली कांग्रेस चितवन–काठमाडौँ सम्पर्क समितिको आयोजनामा ‘सुशासन र युवा’ विषयक अन्तक्र्रिया कांग्रेस क्षेत्रीय कार्यसमिति खैरहनीमा सम्पन्न भएको छ । कार्यक्रममा कांग्रेसले प्रतिज्ञापत्रमा उल्लेख गरेबमोजिम चितवनको समग्र पूर्वाधार विकास र सुशासन कायम गर्न युवाको भूमिकाबारे दुई मह¤वपूर्ण कार्यपत्र प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष ई. सुवासचन्द्र बरालले चितवनको पूर्वाधार विकासको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे ‘समुन्नतिको सेतु ः चितवनको पूर्वाधार विकास अवधारणा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै चितवनलाई पर्यटन (सौराहा, मेघौली), कृषि तथा कृषिमा आधारित उद्योग (पोल्ट्री उत्पादन), उद्योग तथा व्यापार, र शिक्षा तथा स्वास्थ्य क्षेत्रको प्रमुख केन्द्रका रूपमा व्याख्या गरे ।
उनले सडक अव्यवस्था र ढिलाइ, बाढी र खडेरीको समस्या र अव्यवस्थित सहरीकरण चितवनका प्रमुख चुनौती रहेको कार्यपत्रमा औँल्याए । यस्तै, पूर्वाधार पुनर्संरचना र समाधानका लागि कार्यपत्रमार्फत् सडक सञ्जालको विस्तार (पूर्व–पश्चिम राजमार्ग विस्तार, भरतपुर चक्रपथ), मुग्लिन–नारायणगढ खण्डको उत्थानशील व्यवस्थापन र जलस्रोतको उचित व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी, नदीकिनार विकासका सन्दर्भमा बाढी नियन्त्रण र पर्यटन प्रवद्र्धनका लागि सौराहा–लोथर करिडोर, कयर खोला करिडोरजस्ता नदीकिनारमा इको–पार्कसहितका दिगो संरचना निर्माण गर्ने अवधारणा प्रस्तुत गरिएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख भएबमोजिम नारायणी नदी आसपासको क्षेत्रलाई ‘ग्रेटर चितवन’ नमुना सहरका रूपमा विकास गर्ने र तटबन्धलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्ने योजनालाई पनि जोड दिइएको छ ।
यस्तै, शिक्षाविद् तथा ज्ञान व्यवस्थापन विज्ञ डा. कृष्णप्रसाद पौडेलले ‘सुशासन र युवा’ विषयमा प्रस्तुतीकरण दिए । उनले सुशासनको प्रत्याभूति गराउन र राष्ट्रनिर्माणमा युवाको अर्थपूर्ण सहभागिताबारे प्रकाश पारे ।
नेपालको कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत युवा भए पनि उनीहरू बेरोजगारी, सीप अभाव र वैदेशिक पलायनजस्ता गम्भीर चुनौतीहरूको सामना गरिरहेको भन्दै डा. पौडेलले युवाको वर्तमान अवस्थाबारे कार्यपत्रमा उल्लेख गरेका छन् ।
नेपालमा प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र पारदर्शिताको अभाव सुशासन कायम गर्ने बाटोका मुख्य व्यवधानहरु भएको औँल्याउँदै डा. पौडेलले सुशासनमा युवाको भूमिकाबारे प्रकाश पारेका थिए ।
सार्वजनिक खर्च र सेवा प्रवाहमा निगरानी बढाउने र सूचनाको अधिकार प्रयोग गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान चलाउने र दबाब सिर्जना गर्ने, खुला डाटा र इ–गभर्नेन्सजस्ता प्रविधिको प्रवद्र्धन गर्ने, प्रमाणमा आधारित नीति निर्माणमा अनुसन्धान र सुझावमार्फत योगदान पु¥याउने काम युवाले गर्नुपर्ने उनले कार्यपत्रमा उल्लेख गरेका छन् ।
डा. पौडेलले २०४६ सालसम्म त्याग र निष्ठामा आधारित रहेको राजनीति २०५१ पछि पेसा र व्यवसायमा परिणत भएको बताए । उनले राजनीतिलाई पुनः सेवाभावमा फर्काउन युवाहरू सहभागी मात्र नभई परिवर्तनको नेतृत्वकर्ता बन्नुपर्ने कुरामा जोड दिए ।
अन्तक्र्रिया कार्यक्रमले चितवनको भौतिक पूर्वाधार विकासलाई सुशासन र युवा नेतृत्वको सशक्तिकरणसँग जोडेर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको विपद् न्यूनीकरण विज्ञ मनबहादुर थापाले बताए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति एवम् निर्वाचन परिचालन समितिका संयोजक किरणभूषण सिंह ओलीले कांग्रेसले घोषणा गरेको भिजन–१० अवधारणा मतदातालाई बुझाउन जरूरी रहेको बताए । कांग्रेस मतदाताको घरदैलोमा पुग्दा वा मतदाता भेट्दा कांग्रेसका एजेन्डाहरु प्रष्टसँग राख्नसमेत नेताकार्यकर्ताहरुलाई आग्रह गरे ।








