काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक सम्पन्न भएको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षा व्यवस्थाबिच बसेको बैठक करिब २ घन्टा चलेपछि सकिएको हो । आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिएनन् । प्रधानमन्त्री ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए । उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए । पत्रमा ओलीले प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने उल्लेख गरेका थिए । बैठकमा अधिकांश समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । आज दुवै अध्यक्षका प्रस्ताव पेश गर्ने कार्यसूची थियो । प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले १३ मंसीरमा जवाफी प्रतिवेदन पेश गरेका थिए । ओलीले प्रचण्डको लाञ्छना पत्र बैठकमा छलफल हुन नसक्ने भन्दै फिर्ताको अडान राख्दै आएका थिए । प्रस्ताव अध्ययनका लागि ७ दिनको समय दिइएको छ । अवको अर्को बैठक २८ गतेका लागि बोलाइएको छ भने यसअघि नै मंसिर २५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ ।








