काठमाडौं । मोरङको मिक्लाजुङ घटनाको अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्धारा एक विज्ञप्ति जारी गर्दै घटनाको अनुगमन सुरु गरेको साथै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह समेत गरेको छ । आयोगका प्रवक्ता (सहसचिव) डा. टीकाराम पोखरेलद्धारा जारि विज्ञप्तिमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा मङ्सिर २३ गते भएको सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । आयोगले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट हत्या भएको देखिएको भन्दै व्यक्ति हत्या जस्तो गम्भीर अपराधका घटनाप्रति आयोगले खेद प्रकट गरेको छ। ‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना राजनीतिक विचारहरु अभिव्यक्त गर्ने, विनाहतियार भेला हुने, शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने तथा असहमतिलाई शान्तिपूर्वक व्यक्त गर्न पाउने हक पनि प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ।’ आफ्ना विचारमा असहमति राख्नेप्रति असहिष्णु भई हत्या–हिंसा नगर्न र प्रत्येक व्यक्तिको जीवनको अधिकारको सम्मान गर्न आयोगले नेपाल कम्युनिस्ट पार्टीलाई आग्रह गरेको छ। कुनै पनि व्यक्तिलाई विचार आस्था र आशंकाको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने कार्य नगर्न, उक्त घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।








