नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नं ४ शंखदेवकी ७५ वर्षीय महिलाको कोरोना संक्रमणले मृत्यु भएको हुप्सेकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । श्वासप्रश्वास सम्बन्धी समस्याबाट लामो समयदेखि पिडित वृद्धामा मंसिर १६ गते मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो । सापकोटाका अनुसार आफन्तहरुले कोरोना संक्रमित वृद्धाको अवस्था गम्भिर बनेपछि अस्पतालबाट मंगलबार नै घरमा लगेकोमा आज घरमै उनको ज्यान गएको हो । मृतकको बिहिबार नेपाली सेनाको सहयोगमा अन्त्यष्टी गरिने सापकोटाले बताए । हुप्सेकोटमा कोरोना संक्रमणको कारणले मृत्यु भएको यो पहिलो घटना हो भने जिल्लामा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या २९ पुगेको छ । पूर्वी नवलपरासीमा यो सहित कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या १८९ रहेको छ ।








