चितवन । कोरोना भाइरसको सङ्क्रमणसंगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान वनाउन घुमौं सौराहा अभियान शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अबस्था नभए पछि आन्तरिक पर्यटन प्रबर्धनका लागि घुमौं सौराहा अभियान सुरु गर्न लागिएको हो । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा अभियान सुरु गरिदैं छ । संघका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटनमार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहाको प्रचारका लागि अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो । आन्तरिक पर्यटकका लागि आकर्षक प्याकेज सहित कार्यक्रम गरिदैं छ ।
अभियानको क्रममा पुस १० गते विराटनगर, पुस ११ गते जनकपुर, पुस १२ गते वीरगञ्जमा विविध कार्यक्रम आयोजना गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।कोरोना भाइरसका कारण पर्यटन व्यवसाय ठप्प भएको भन्दै उहाँले स्वदेश भित्र घुम्न र पर्यटकलाई आकर्षित गर्न घुमौं सौराहा अभियान शुरू गर्न लागेको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैंडा, बाघ, भालुलगायत जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो ।
अभियानका संयोजक सुमन घिमिरेले अभियानका क्रममा ती शहरहरुमा सौराहासंग सम्बन्धित प्रस्तुती, भिडियो र वन तथा वन्यजन्तुका फोटाहरु प्रदर्शन गरिने बताउनुभयो । उहाँले भन्नुभयो “हामी सौराहा घुम्नका लागि निम्तो दिन्छौ ।”अभियान पहिलो चरणमा प्रदेशनम्बर १ र २ एबं दोस्रो चरणमा बाँकी प्रदेशमा गरिने छ ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष समेत रहनु भएका घिमिरेले नेपाल सरकारले सन २०२१ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा यो कार्यक्रमले थप सहयोग पु¥याउने विश्वास व्यक्त गनुभयो । अभियानलाई नेपाल पर्यटन वोड, जिल्ला समन्वय समिति चितवन र रत्ननगर नगरपालिकाले सहयोग गरेका छन् ।
गत वर्षहरुमा संघले भारतीय सिमा क्षेत्रका शहरहरुमा पुगेर यसरीनै पर्यटन प्रबर्धनका कार्यक्रम गर्ने गरेको थियो । कोरोना सङ्क्रमणका कारण यस वर्ष कार्यक्रम नेपालका शहरमा केन्द्रित गरिएको हो । गएको चैत्र पहिलो साताबाट वन्द भएका सौराहाका होटल, रेष्टूरेन्ट दशैं पछि खुलेका भए पनि पर्यटकको आगमन न्यून रहेको रेष्टूरेन्ट एण्ड वार एशोसियसन (रेवान)का अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिलेको अबस्थामा आन्तरिक पर्यटकले पर्यटन उद्योग बचाउँनु पर्छ ।” सौराहामा १ सय २० वटा होटल र १ सय हाराहारी रेष्टूरेन्ट रहेका छन् ।








