काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीकै कारण कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको बताएका छन् । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले ओलीले नेतृत्वमा आएदेखि नै गुटबन्दी गरेको आरोप लगाएका छन् । ‘पूर्वएमालेमा हुँदा पनि केपी ओलीले गुटबन्दी गरे । एकता भएपछि सुध्रेला भनेको त फेरि पनि गुटबन्दी गरे’ उनले भने । नेता खनालले प्रधानमन्त्री भएकै दिनदेखि ओलीले आफूलाई महाराजजस्तो ठानेको र निरंकुश, तानाशाहीजस्तो शासक बनेको पनि आरोप लगाएका छन् । पार्टीलाई भऱ्याङ बनाएर गएको तर पार्टीका लक्ष्य, निर्णयलाई नमानेको उनको भनाई छ ।








