काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारको बैठक नौटंकी भएको बताएका छन् । मंगलबार बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बिहान गरेको बैठक नौटंकी भएको बताएका हुन् । ‘आज बिहान बालुवाटारमा जे भयो नौटंकी हो। एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ? झन् विवरण निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन ।’ उनले भनेका छन् । उनले यो नौटंकीलाई निर्वाचन आयोगले मान्यता नदिने पनि बताएका छन् । आजै बिहान बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो । नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन् ।








