काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच आज भेटवार्ता भएको छ । बुधबार बिहान गृहमन्त्री बादल प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा पुगेका थिए । करिब एक घन्टा भएको भेटवार्तामा उनीहरुबीच पछिल्ला राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको स्रोतले बताएको छ । औपचारिक रुपमा घोषणा नभएको तर, राजनीतिक रूपले विभाजन भइसकेको नेकपाको कुनैपनि गुटगत भेलामा नगएका सचिवालय सदस्य बादललाई दुवैपक्षले साथ दिन आग्रह गरेका छन् । पूर्वमाओवादी समूहका बादललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार रुपमा भेटवार्ता गर्दै आफ्नो समूहमा आउन अनुरोध गरिसकेका छन् । ओली समूह र बहुमतको प्रचण्ड र नेपालको पक्षले छुट्टाछ्ट्टै भेला राख्नुका साथै केन्द्रिय समितिको बैठक समेत राखिसकेका छन् । तर, एकताको पक्षधर रहेका बादल कुनै भेलामा सहभागी भएका छैनन् । मंगलबार दिउँसो बसेको प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ भने नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।








