चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार असफल भएको उल्लेख गर्दै देशैभरसंगै चितवनमा पनि ज्ञापन पत्र बुझाएका छन् । राप्रपा चितवनले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई २२ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । पार्टी कार्यलय चितवनबाट शुरु भएको ¥याली सहितको टोलीले सरकारविरुद्ध शान्ति पुर्ण नारा, जुलुस सहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन् । पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भनिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चात देश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा समेत फसेको राप्रपाको निष्कर्ष छ । कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्म परिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राज संस्था पुनःस्थापनाको पक्षमा राप्रपा संघर्षमा जाने तयारीमा छ – बुझाईएको पत्रमा भनिएको छ ।








