काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थापछि दुई छिमेकी मुलुकले नेपालमा खुल्ला परेड खेलिरहेको बताएका छन् । बिहिबार मेलमिलाप दिवसको अवसर पारेर काठमाडौंको शान्तिबाटिकामा तेज-तीर्थ ट्रष्टले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति यादवले संसद विघटनको घटनापछि मुलुक दुई देशको परेड मैदान बन्नु दुःखद् भएको बताएका हुन् । ‘काठमाडौंको पठित वर्ग र चिन्तित वर्गको बिचमा मैले भन्न डराउनु पर्दैन, ‘राष्ट्रमा अहिले खतरा छ, असंवैधानिक तरिकाबाट संसद विघटन भयो, विदेशीको पनि ध्यान तानिएको छ, दुई ठूला देशका बीचमा हामी छौं, तानातान छ, यहाँ उत्तर र दक्षिणको खुला परेड सुरु भइरहेको छ, यो सुखद् होइन,’ पूर्व राष्ट्रपति यादवले सम्बोधनका क्रममा भने । यादवले अहिले मुलुक संविधान, संविधानवाद र लोकतन्त्रमाथीको आक्रमणबाट अनिश्चितताको बाटोबाट अघि बढिरहेको पनि बताए ।








