काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन गरेको पत्राचार बमोजिम बुधबार ओली समूहले जवाफ पेश गरेको हो । पत्रमा नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)ले ओलीलाई अनुशासनको कारबाही गर्दै उनको ठाँउमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरेको विवरण पेश गर्नुको औचित्य र वैधानिकता नभएको उल्लेख गरिएको छ ।
आयोगलाई लेखेको पत्रमा भनिएको छ,‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु । द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ । यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ ।’ संस्थापन पक्षले आयोगमा गरेको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ ।
जवाफी पत्रमा ओली समूहले निर्वाचनका कार्यक्रमलाई नरोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। साथै, आफ्नो पक्ष नै आधिकारिक रहेको दाबी गरिएको छ ।








