काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतको तीनदिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री ज्ञवाली आज अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् । परराष्ट्रमन्त्री ज्ञवाली नेपाल भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका थिए ।
बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका थिए । शुक्रबार बैठक सम्पन्न भएपछि मन्त्री ज्ञवालीले शनिबार भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास गरे पनि समय भने पाएनन् ।
बैठकमा नेपाली पक्षले सीमा विवादलाई उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्याउनुपर्ने विषय’ भन्दै पन्छाएको थियो ।








