काठमाडौँ । वर्तमान काम चलाउ सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानी गर्न सक्ने गरी ल्याएको प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले कृषि क्षेत्रमा पनि वैदेशिक लगानी गर्न सक्ने गरी सरकारले जारी गरेको प्रावधानलाई हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सरकारले गत पुस २० गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्न सक्ने कृषिको ठूला उद्योगमा विदेशी लगानी गर्न सक्ने गरी बाटो खोलिदिएको थियो । त्यस्तो व्यवस्थाले नेपालमा लगानी गर्ने नेपाली कृषकको अवस्था धरासयी हुने उल्लेख गर्दै अधिवक्ताद्वय डा। पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले संयुक्तरुपमा सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । सर्वोच्चले सरकारले जारी गरेको सो व्यवस्था हाल कार्यान्वयन नगर्नु र नगराउनु भनी अन्तरिम आदेश जारी भएको छ ।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि सोबमोजिम निर्धारण गरिएको क्षेत्रमा विदेशी लगानी गर्न हाललाई नपाइने भएको छ ।सरकारले जारी गरेअनुसार पशुपन्छी, माछा, मौरी, फलफूल, तरकारी, तेलहन, दलहन, दुग्ध तथा अन्य व्यवसायमा पनि विदेशी लगानी गर्न पाउने गरी बाटो खुलेको बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।








