काठमाडौं । काठमाडाैँ महानगरपालिकाले रानीपोखरीमा रहेको लेउ हटाएर थप सुन्दर बनाउन थालेको छ । पुनःनिर्माणपछि चिटिक्क भएको ऐतिहासिक रानीपोखरी हरियो लेउले ढाकेपछि सौन्दर्य कायम राख्नका लागि कामपाले सोमबारदेखि सरसफाइ शुरु गरेको हो । पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि कामपाले नगर प्रहरीको सहयोगमा सफा गर्न थालेको हो । कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले दैनिक २० नगर प्रहरीको सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुनःनिर्माणपछि हस्तान्तरण भइसकेको छैन । यद्यपि पोखरी हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले लेउ हटाएका हौँ ।” गोरखा भूकम्पका कारण क्षति भएको रानीपोखरीको गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःनिर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन भएको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा सो पोखरी बनाएका हुन् । पोखरीको निर्माण विसं १७२५ मा सम्पन्न भएको थियो । विसं १७२७ मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । – रासस








