हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आज जिल्लाको सबै वडामा केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारको विरुद्धमा विरोध प्रदर्शन गर्दै छ । सरकारले असंवैधानिक तवरबाट संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेसले चरणबद्ध आन्दोलन गरिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिले घोषणा गरेको विरोधको कार्यक्रम अन्तर्गत बिहीबार आज मकवानपुरको १०२ वटै वडामा विरोध प्रदर्शन गर्न लगोको हो ।
वडा–वडामा हुने विरोध प्रदर्शनको तयारी सम्पन्न भएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । तयारीको बिषयमा नेपाली कांग्रेस मकवानपुरले हिजो बुधबार प्रत्रकार सम्मेलन गरी जानकारी समेत गराएको थियो । संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।
प्रेस युनियन मकवानपुरको संयोजनमा बुधबार भएको पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेले कम्युनिष्ट सरकारले गरेको ‘कू’ को विरुद्धमा एकढिक्का हुन आम जनता तथा कांग्रेस कार्यकर्तालाई अनुरोध गरेका थिए । पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल विद्यार्थी संघ सभापति राजु खतिवडालगायतको उपस्थिति रहेको थियो ।








