हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको बिरोध गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा कालो बेलुनस उडाएर विरोध गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षधर राष्ट्रिय युवा संघ नेपालले हेटौंडाको बुद्धचोकबाट कालो बेलुन उडाएको हो ।
उनीहरुले संसद् विघटन गर्न पाइँदैन निरंकुशता चाहिँदैन, बयलगाढा चढेर गणतन्त्र आएको होइन लगायतका नारा लेखिएको ब्यानर समेत प्रदर्शन गरेका थिए । कालो बेलुन उढाए पश्चात संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रिय युवा संघ मकवानपुरका सहसंयोजक राजकुमार मोक्तानले केपी शर्मा ओलीलाई सनक चढेको भरमा मुलुकमा अस्थिरता कायम गर्न नपाइने धारणा राखे ।
उनले संसद् विघटनको निर्णय अलोकतान्त्रिक एवम् असंवैधानिक भएको उल्लेख गर्दै न्यायालयले उचित निर्णय गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय युवा संघका नेताहरु प्रकाश थापा, लवराज ठकुरीलगायतको उपस्थिती रहेको थियो ।








