काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार सुनुवाइ हुँदाहुँदै समय अभावका कारण हेर्दाहेर्दै शुक्रबारका लागि तय भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस भैरहेको छ ।
बिहीबार रिट निवेदकका तर्फका अधिवक्ताहरुले राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नै नभएको बताएपछि न्यायाधीश अनिलकुमार सिन्हाले उक्त सूचना राजपत्रमा प्रकाशित भएको भए इजलाससमक्ष पेश गर्न महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारी वकिललाई माग गरेका थिए । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख लगायतलाई विपक्षी बनाई १३ अधिवक्ताले रिट दायर गरेका थिए ।
हालसम्म रिट निवेदकका तर्फबाट २५ कानून व्यवसायीले बहस गरेका छन् । इजलासले समयमा पनि निकै कडाइ गरेको छ । वरिष्ठ अधिवक्तालाई आधा घण्टा र अधिवक्तालाई १५ मिनेटको समय निर्धारण गरिएको छ ।








