काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरे अनुसार शुल्क नबढाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न चिकित्सा शिक्षा आयोगको पाचौं बैठकमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा शुल्कवृद्धि गर्दा नकारात्मक असर पर्ने भएकोले शुल्क बढाउनु उचित नहुने बताएका हुन् ।
आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबिबिएस कार्यक्रमको लागि विभिन्न कारण देखाएर ८ लाख रुपैयाँ बढाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट ४८ लाख रुपैयाँ पुर्याउन सिफारिस गरेको थियो । तर, आयोगका अध्यक्षसमेत रहेका ओलीले कोरोना कहरमा सरकारले शुल्कवृद्धि गर्दा नकारात्मक असर पर्ने भएकोले बढाउनुका साटो शुल्क घटाउने विषयमा कुरा गर्न सकिने बताएका हुन् ।
समितिले बीडीएस, एमडीएमएस, एमडीएस साइन्स,एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो। समितिमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा. उषा झा, आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइटेल रहेका छन्।








