तनहुँ । विभिन्न मुद्दाका पाँच जनालाई डिभिजन वन कार्यालय तनहुँले पक्राउ गरेको छ । गैँडाको छाला र चित्तलको सिङ ओसारपसार कार्यमा संलग्न जिल्लाको बन्दीपुर–६ निवासी कृष्ण बहादुर गुरुङ र विमल गुरुङलाई पक्राउ गरिएको छ । उक्त कार्यमा संलग्न वीरेन्द्र गुरुङ भने हालसम्म फरार रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिएनुभयो।
त्यस्तै सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउ बहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०।२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको उहाँले बताउनुभयो। त्यसैगरी बिनालाइसेन्स काठ ओसारपसार मुद्दामा जिल्लाको बन्दीपुर गाउँपालिका–२ ढाबटार निवारी हिम बहादुर चुमी मगरलाई पक्राउ गरिएको छ ।
निजमार्फत सालको ३८।७४ र बर्रोको ६८।९९ क्यूफिट काठ बरामद गरिएको हो । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका उनीहरुलाई वन कार्यालयको हिरासतकक्षमा राखेर थप अनुसन्धान भइरहेको डिभिजन प्रमुख काफ्लेले बताउनुभयो।








